लम्कीचुहाको शिक्षा सुधारमा अनुगमनदेखि डिजिटल शिक्षासम्म, शिक्षा शाखा प्रमुख शाहको सक्रियता

लम्की /  लम्कीचुहा नगरपालिकामा शिक्षा शाखा प्रमुखका रूपमा पंख (पंकज) शाह आएपछि नगरपालिकाको शिक्षा क्षेत्रमा सुधारका विभिन्न प्रयास अघि बढाइएको छ। शिक्षा अधिकृतका रूपमा जिम्मेवारी सम्हालेपछि शाहले नगर क्षेत्रका सामुदायिक विद्यालयको अनुगमनलाई तीव्रता दिनुभएको छ।

 

विद्यालय अनुगमनका क्रममा विद्यालयमा सुधार गर्नुपर्ने पक्ष, राम्रा अभ्यास तथा अन्य शैक्षिक गतिविधि पहिचान गरी आवश्यक सुधारका लागि सम्बन्धित विद्यालयलाई सुझाव तथा समन्वय गर्ने गरिएको छ।

 

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा दिवा खाजा पकाएर विद्यार्थीलाई खुवाउने व्यवस्था, शिक्षकको नियमितता तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा समेत जोड दिइएको छ। यस्तै, शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन आधुनिक तथा डिजिटल शिक्षाको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ।

 

विद्यालयमा शिक्षकको नियमित उपस्थिति र पठनपाठनको अवस्थाबारे समेत अनुगमनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ। यसबाट विद्यालयको व्यवस्थापन, शिक्षण सिकाइ तथा विद्यार्थीको नियमिततामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 

यद्यपि, लम्कीचुहा नगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तथा विद्यार्थी संख्याबीचको असन्तुलन अझै चुनौतीका रूपमा रहेको छ। केही विद्यालयमा विद्यार्थी संख्याको तुलनामा शिक्षक बढी रहेको अवस्था छ भने केही विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको संख्या निकै कम रहेको अभिभावकहरूको गुनासो छ।

 

विद्यालयमा शिक्षकको आवश्यकता र विद्यार्थी संख्याका आधारमा दरबन्दी तथा शिक्षक व्यवस्थापनमा समेत सुधार गर्नुपर्ने अभिभावकहरूको अपेक्षा छ। शिक्षा क्षेत्रमा सुरु गरिएका सुधारका प्रयासलाई निरन्तरता दिँदै शिक्षक व्यवस्थापनको समस्या समाधान गर्न सके नगरपालिकाको सामुदायिक शिक्षाको गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस