माछापुच्छ्रे बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद स्मृति माविलाई सामग्री सहयोग

लम्की/  संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility–CSR) अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेड, लम्की शाखाद्वारा शहिद स्मृति माध्यमिक विद्यालय, लम्कीचुहा–१, पूर्वलम्कीलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराइएको छ।

 

विद्यार्थीहरूको शैक्षिक सिकाइलाई थप प्रभावकारी बनाउनुका साथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उनीहरूको सहभागिता र प्रतिभा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेको हो।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबहादुर नेपालीको सभाध्यक्षता भएको सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे बैंक लिमिटेड, लम्की शाखाका शाखा प्रमुख मिनराज भट्ट रहनुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पवित्रा विश्वकर्मा, माछापुच्छ्रे बैंक लम्की शाखाका ऋण प्रमुख दीपक क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य परी टमट्रा, सुनिता चौधरी, कल्पना रेग्मी न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य मनिराम सुनार, विद्यालयका संस्थापक प्रधानाध्यापक नोबेन्द्रा बराल, सहायक प्रधानाध्यापक नरेश थापा लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समुदाय, संघसंस्था तथा बैंकिङ क्षेत्रबाट प्राप्त हुने सहयोगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता सहयोग र सहकार्यलाई विद्यालयले सदैव सकारात्मक रूपमा ग्रहण गर्ने उल्लेख गर्नुभयो।

 

कार्यक्रममा प्रमुख अतिथि तथा माछापुच्छ्रे बैंक लिमिटेड, लम्की शाखाका शाखा प्रमुख मिनराज भट्टले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा खेलकुद गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सम्भव भएसम्म यस्ता सामाजिक तथा शैक्षिक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीको क्षमता र प्रतिभा विकासका लागि विद्यालय, अभिभावक, समुदाय तथा संस्थाबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष पवित्रा विश्वकर्माले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत पर्याप्त अवसर आवश्यक रहेको बताउनुभयो। बैंकले विद्यालयलाई गरेको सामग्री सहयोगले विद्यार्थीहरूको सिकाइ तथा प्रतिभा विकासमा प्रत्यक्ष सहयोग पुग्ने उल्लेख गर्दै विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर सहयोग उपलब्ध गराएकोमा माछापुच्छ्रे बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यालयको समग्र विकासका लागि आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोग निरन्तर रहनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो। उक्त अवसरमा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराई विद्यार्थीहरूको सिकाइ, सिर्जनशीलता तथा खेलकुद प्रतिभा विकासमा सहयोग पुर्‍याउनुभएकोमा माछापुच्छ्रे बैंक लिमिटेड, लम्की शाखाप्रति शहिद स्मृति माध्यमिक विद्यालय परिवारका तर्फबाट आभार तथा धन्यवाद व्यक्त गरिएको थियो । विद्यालय र समुदायबीचको सहकार्य तथा सामाजिक उत्तरदायित्वका यस्ता सकारात्मक प्रयासले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा थप योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ।

 

प्रतिकृया दिनुहोस