अभिभावक भेलाबाट राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन
बल्चौर, कैलाली / राष्ट्रिय माध्यमिक विद्यालय लम्कीचुहा–३, बल्चौर व्यवस्थितनगरको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ। भेलाले विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर विष्टको सभापतित्वमा सम्पन्न भेलाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष लबबहादुर शाही रहनुभएको थियो। भेलामा विद्यालयको शैक्षिक अवस्था, व्यवस्थापन तथा विद्यालयको समग्र विकासका विषयमा छलफलसमेत गरिएको बताइएको छ।
भेलाले गीता विकलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद जैशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार समितिको सदस्यमा मिना कुमारी, कृष्णप्रसाद देवकोटा र राजबहादुर डगौरा थारू चयन हुनुभएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको भौतिक तथा शैक्षिक विकास र अभिभावकसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ व्यवस्थापन समितिले काम गर्ने अपेक्षा गरिएको छ। भेलामा विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
नयाँ व्यवस्थापन समितिको चयनसँगै विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षलाई थप व्यवस्थित गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। प्रधानाध्यापक बद्रीप्रसाद जैशीका अनुसार अभिभावक भेलाबाट चयन भएको नयाँ समितिले विद्यालयको समग्र विकास र शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर काम गर्नेछ।










प्रतिकृया दिनुहोस