नेपाली कांग्रेसको १५ औँ महाधिवेशन ः लम्कीचुहा नगरसभापतिमा चार आकांक्षी

लम्की / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनमा कैलालीको लम्कीचुहा नगर सभापतिमा चार जनाले उम्मेदवारी दिएका छन् ।

नगर सभापतिका लागि टेकराज कठायत, तेजबहादुर चलाउने, मयाराम धमाला र लोकबहादुर देउवाले उम्मेदवारी दिएका हुन् । टेकराज कठायत, तेजबहादुर चलाउने र मयाराम धमाला लम्कीचुहा नगर प्रमुख सुशीला शाही निकट हुन् भने लोकबहादुर देउवा संस्थापन इतर पक्षका हुन् । नगर प्रमुख शाही निकटका तीनै जना प्रतिस्पर्धामा आएपछि नगर अधिवेशन रोचक बनेको छ ।

नगर सभापतिका आकांक्षीमध्ये मयाराम धमाला १२औँ महाधिवेशनबाट कांग्रेस राजनीतिमा जोडिएका हुन् । २०६१ सालमा उनी वडा सचिवसमेत भएका थिए । त्यस्तै २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी लम्कीचुहा–२ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका थिए । धमाला पूर्व वडा सभापतिसमेत हुन् । कार्यकर्तासँग नजिक रहेका धमालालाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन प्रतिनिधिहरूसँग सहयोगको आग्रह गरेका छन् ।

त्यस्तै अर्का उम्मेदवार तेजबहादुर चलाउने २०६४ सालमा नेपाली कांग्रेसमा आबद्ध भएका हुन् । उनी तत्कालीन तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत भइसकेका छन् । कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका चलाउने यसअघि लम्की साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको करिब १० वर्ष नेतृत्वमा रहेर सार्वजनिक संस्थाको व्यवस्थापनमा भूमिका निर्वाह गरेका व्यक्ति हुन् । विभिन्न संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका चलाउने आफूलाई कार्यकर्ताले विश्वास गर्ने बताउँछन् ।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीति सुरु गरेका टेकराज कठायत जिल्ला सल्लाहकार सदस्यमा रहेर काम गरिसकेका छन् । १४औँ महाधिवेशनमा क्षेत्रीय सचिवमा उम्मेदवारी दिएका कठायतले हार बेहोर्नुपरेको थियो । पार्टीको स्थानीय संगठनमा आफ्नो भूमिका र कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाउँदै नगर नेतृत्वमा पुग्ने आकांक्षासहित नगर सभापतिमा उम्मेदवारी दिएको कठायतको भनाइ छ । उनको उम्मेदवारीसँगै नगर अधिवेशनमा नेतृत्वका लागि नयाँ समीकरण बन्न सक्ने कांग्रेस कार्यकर्ताहरूको बुझाइ छ ।

सञ्चारकर्मी तथा व्यवसायी लोकबहादुर देउवाले पनि नगर सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । १३औँ महाधिवेशनमा लम्कीचुहा–१० को वडा सहसचिव रहेका लोकबहादुर देउवा प्रेस युनियन नेपालको केन्द्रीय प्रतिनिधिसमेत भइसकेका छन् । १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा हार बेहोरेका देउवा यतिबेला उच्च मनोबलका साथ चुनावी मैदानमा छन् । दर्जनौँ संघसंस्थामा आबद्ध देउवा आफू संस्थापन पक्षलाई छोडेर आएको बताउँदै प्रतिनिधिहरूले सहयोग गर्ने विश्वास व्यक्त गर्छन् ।
चारै जनाले नगर सभापतिमा आकांक्षा राखेपछि अब सहमतिको प्रयास हुन्छ वा निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषयमा कांग्रेस कार्यकर्तामा चासो बढेको छ । नगर अधिवेशनले नगर सभापतिसहित नयाँ कार्यसमिति चयन गर्नेछ ।

नगर सभापतिमा एक जना, नगर उपसभापतिमा एक जना महिलासहित दुई जना, सचिवमा एक जना, सहसचिवमा एक जना, वडा सदस्यमा १० जना महिलासहित २० जना, युवा एक जना, महिला तीन जना, दलित एक जना र निर्वाचित जिल्ला सदस्य एक जना महिलासहित दुई जनाका लागि विभिन्न पदमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नगर उपसभापतिमा जयप्रकाश न्यौपाने, मनबहादुर थापा र मिना देवी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । महिला नगर उपसभापतिमा मिना देवी चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना बनेको छ ।
त्यस्तै नगर सचिवमा दुई जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र विष्ट र हेमन्त उपाध्याय ‘शिशिर’ नगर सचिवका उम्मेदवार रहेका छन् । सहसचिवमा दीपेन्द्र विष्ट, देवराज न्यौपाने र लाकेश सञ्ज्यालसहित तीन जनाको उम्मेदवारी परेको छ ।

सदस्यमा दीपकप्रसाद सापकोटा, शारदा धमाला, जोरा सिंह रावल, नन्दलाल तिमिल्सेना, कोकिला रावल थापा, शारदा विष्ट, टेकबहादुर शाही, चन्द्राकुमारी बडुवाल र झपटबहादुर विष्टले उम्मेदवारी दिएका छन् । त्यस्तै जिल्ला सदस्यमा दीपक बडुवाल, नवराज विष्ट, शारदा देवी विष्ट र सुरेन्द्र बडुवालले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारको अन्तिम नामावली अहिले साढे तीन बजे प्रकाशन गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहमति नभएको अवस्थामा आज साढे चार बजेनै निर्वाचन गर्ने तयारी निर्वाचन कार्यालयको तयारी रहेको छ भने उम्मेदवारलाई वडा अधिवेशनबाट चुनिएर आएका तीन सय २१ जना प्रतिनिधिहरूले मतदान गर्ने छ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको देशव्यापी प्रक्रिया अघि बढिरहेका बेला लम्कीचुहा नगर अधिवेशनलाई स्थानीय तहमा पार्टीको संगठन पुनर्गठन र नेतृत्व छनोटको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ । कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ ।

लम्कीचुहा नगर सभापतिमा चार जनाको उम्मेदवारी परेसँगै अब कांग्रेसको स्थानीय नेतृत्व कसरी चयन हुन्छ भन्ने चासो बढेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल हुन्छ वा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुन्छ भन्ने विषयले नगर अधिवेशनको आगामी परिणाम निर्धारण गर्नेछ 

प्रतिकृया दिनुहोस