मुक्त कमैया सामुदायिक वनबाट १४.३५ क्यूफिट सालको काठ बरामद, दुई मोटरसाइकलसहित एक जना पक्राउ

लम्की  / लम्कीचुहा नगरपालिका–३, बल्चौरस्थित मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी मोटरसाइकलमा लोड गरेर लैजाँदै गरिएको १४.३५ क्यूफिट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

शनिबार राति सामुदायिक वन क्षेत्रबाट चोरी गरी ल्याइँदै गरेको अवस्थामा ७.७९ र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठ बरामद गरिएको हो। काठ ओसारपसारमा प्रयोग गरिएका सु.प.प्र. ०१–००८ प ५६२३ र से.७ प ६४०९ नम्बरका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

मुक्त कमैया सामुदायिक वन उपभोक्ता समूह, स्थानीय युवा क्लब तथा सब–डिभिजन वन कार्यालय लम्कीको संयुक्त टोलीले राति गस्ती गर्ने क्रममा उक्त काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हितुलाल चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार काठ चोरीमा संलग्न जानकी गाउँपालिका–८, भगरैयाका सर्वन चौधरीलाई नियन्त्रणमा लिन सफल भएको छ भने घटनामा संलग्न अर्का एक जना भने फरार भएका छन्।

मुक्त कमैया सामुदायिक वनका वन हेरालु तथा चौकीदार साकाराम चौधरीका अनुसार पछिल्ला केही दिनदेखि रातिको समयमा मुक्त कमैया सामुदायिक वन र कैलाशधाम धार्मिक वन क्षेत्रमा हरिया रूख कटान गरी काठ चोरी हुने क्रम बढेको थियो। त्यसपछि सामुदायिक वन उपभोक्ता समूह र स्थानीय युवा क्लबले रातिको समयमा समेत गस्ती गर्दै आएका थिए।

शनिबार साँझ पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा केही मोटरसाइकलको अस्वाभाविक आवतजावत देखिएपछि उपभोक्ताहरूले रातभर गस्ती गरेका थिए। सोही क्रममा राति २:५५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गको बल्चौर चोक नजिकै काठ लोड गरिएका मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको चौधरीले बताउनुभयो।

बरामद गरिएको काठ र दुवै मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा बुझाइएको छ। नियन्त्रणमा लिइएका सर्वन चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको सब–डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत निसा पंगेनीले जानकारी दिनुभयो। पंगेनीका अनुसार घटनामा कति जना संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। फरार व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धानसमेत जारी रहेको वन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस