लम्की खानेपानी संस्थाद्वारा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग
लम्की / रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका कार्यसमिति पदाधिकारी तथा सदस्यबाट ४५ हजार ९ सय रुपैयाँ, कार्यरत कर्मचारीबाट तीन दिनको तलबबापत ६० हजार ९ सय ६७ रुपैयाँ र संस्थाको तर्फबाट ४४ हजार १ सय ३३ रुपैयाँ गरी एकमुष्ट १ लाख ५१ हजार रुपैयाँ बिहीवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका पदाधिकारी, कर्मचारी र संस्थाको तर्फबाट उक्त सहयोग गरिएको संस्थाका अध्यक्ष मल्ल सिंहले बताए । ‘विपत्ति कसैको विशेष समस्या मात्रै होइन, यस्तो अवस्थामा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,’ अध्यक्ष सिंहले भने, ‘हामीले गरेको सहयोग रकम संस्थासँग आबद्ध उपभोक्ता तथा समग्र लम्की खानेपानी संस्थाको सामूहिक रूपमा दिएका छौँ ।’
त्यस्तै संस्थाका कार्यालय प्रमुख जगन्नाथ ढकालले विपत्तिका बेला संस्थाका पदाधिकारी, कर्मचारी र संस्थाले संयुक्त रूपमा सहयोग गर्नु सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता भएको बताए ।
‘हामीले संस्थाको नियमित कामसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेका छौँ, ढकालले भने, ‘भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडा कम गर्न हाम्रो सानो सहयोगले पनि केही योगदान पुगोस् भन्ने उद्देश्यले रहेको छ ।’
२०६२ साल स्थापना भएको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लम्की क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको संस्था हो । हाल करिब ५ हजार उपभोक्ता आबद्ध छन् । दोस्रो चरणको कार्यको अन्तिम हुँदै तेस्रो चरणमा प्रवेश गर्न लागेको ‘कर्णालीको पानी लम्कीवासीलाई’ योजना सम्पन्न भएमा लम्की क्षेत्रका करिब १५ हजार घरधुरीमा खानेपानीको धारा वितरण गर्ने संस्थाको लक्ष्य छ रहेको ।









प्रतिकृया दिनुहोस