कांग्रेसलाई एकढिक्का बनाउने जिम्मेवारी गगन थापाको काँधमा आएको छ : कमलबहादुर शाह

लम्की /  नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मेवारी पार्टीकाे बिशेष महाधिवेशन पक्षधरबाट नवनिर्वाचित सभापति गगनकुमार थापाको काँधमा आएको नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ।

 

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को १५औँ नियमित महाधिवेशनअन्तर्गत शनिबार लम्कीमा आयोजित क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा ‘क’ र ‘ख’ को अधिवेशनलाई सम्बोधन गर्दै नेता शाहले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापालाई बधाई तथा शुभकामना दिँदै पार्टी एकताका लागि अग्रसर हुन आग्रह गर्नुभयो। उहाँले कांग्रेस फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र एकता कायम हुन नसके ठूलो क्षति बेहोर्नुपर्ने र भविष्यमा कांग्रेसलाई खोजेरसमेत पाउन मुस्किल हुने अवस्था आउन सक्ने बताउनुभयो।

 

“पार्टीलाई एकढिक्का बनाएर लैजाने जिम्मेवारी तपाईंको काँधमा आएको छ,” सभापति थापालाई सम्बोधन गर्दै शाहले भन्नुभयो, “तपाईंले सिंगो नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्छ।”

नेता शाहले  पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन र अपमान गरेर मात्रै नेपाली कांग्रेस तथा देशले निकास पाउन नसक्ने धारणा व्यक्त गर्नुभयो। पार्टीभित्रका असहमति, आग्रह–पूर्वाग्रह र आक्रोशभन्दा माथि उठेर एकताका लागि संवाद र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

 

सर्वोच्च अदालतबाट शेरबहादुर देउवा वा नियमित महाधिवेशनको पक्षमा निर्णय आए पनि त्यसपछि उत्पन्न हुने परिस्थितिमा सभापति थापाको सम्मान गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा आफू लाग्ने शाहले बताउनुभयो। 

 

उहाँले थापाको नेतृत्व क्षमताको प्रशंसा गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयलाई आग्रह–पूर्वाग्रह र आक्रोशका आधारमा मात्र नहेर्न पनि आग्रह गर्नुभयो। कार्यक्रममा कांग्रेसका नेता तथा विशिष्ट अतिथि जनकबहादुर बम, धर्मराज न्यौपाने र सूर्यबहादुर बटालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

कार्यक्रममा नेकपा प्रतिनिधि दानबहादुर रावत, नेकपा एमालेका प्रतिनिधि रामबहादुर बोगटी, नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य रामचन्द्र कठरिया, बर्दगोरिया गाउँपालिका–४ का वडाध्यक्ष जगतबहादुर शाही, बर्दगोरिया गाउँपालिका सभापति प्रमोद मल्ल, जानकी गाउँपालिका सभापति गोविन्द विष्ट, मोहन्याल गाउँपालिका सभापति पिरम बुढा, लम्कीचुहा नगर सभापति प्रयागराज खनाल र जिल्ला सदस्य उत्तरादेवी बमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

नेपाली कांग्रेसका नेता लबबहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सभापतित्व क्षेत्रीय संयोजक रामबहादुर बिष्टले गर्नुभएको थियो।

 

यसैबीच, कार्यक्रममा नेपाली कांग्रेसमा २०३६ सालदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएका पल्टुराम चौधरीलाई सम्मान गरिएको थियो।

 

क्षेत्रीय अधिवेशनले नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ‘क’ र ‘ख’ सहित क्षेत्रीय तहको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस