कांग्रेस महाधिवेशन प्रतिनिधिमा लम्कीचुहा नगरप्रमुख शाहीको उम्मेदवारी
लम्की / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. २ बाट लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले खुला महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गरेकी छन्।
नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य, समावेशी सिद्धान्त र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै शाहीले पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिता र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेकी हुन्।
शाहीले पार्टी संगठनको संस्थागत विकास, कार्यकर्ताको सम्मान तथा अधिकारका विषयमा दृढतापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, महिलाको नेतृत्व र सहभागितालाई थप प्रभावकारी बनाउँदै पार्टी संगठनलाई समावेशी, सुदृढ र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित रहने उनको भनाइ छ।
“नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य, समावेशी सिद्धान्त र संगठनात्मक सुदृढीकरणप्रति प्रतिबद्ध रहँदै खुला महिला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छु,” शाहीले भनेकी छन्।
शाही हाल लम्कीचुहा नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा छिन्। यसअघि उनी नेपाल जेसीजको वरिष्ठ उपाध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेकी छन्। विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी शाहीले स्थानीय तह तथा सामाजिक क्षेत्रमा समेत काम गरेको पृष्ठभूमि रहेको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा पार्टी संगठनको सुदृढीकरणसँगै महिला सहभागिता, कार्यकर्ताको सम्मान, संगठनभित्रको समन्वय तथा समावेशी प्रतिनिधित्वका सवालमा आफ्नो भूमिका प्रभावकारी बनाउने शाहीले बताएकी छन्।
उनले आफ्नो उम्मेदवारीलाई पार्टी संगठनमा महिलाको प्रतिनिधित्वलाई थप बलियो बनाउने अवसरका रूपमा लिँदै महाधिवेशन प्रतिनिधिहरूको साथ, समर्थन, सुझाव र अमूल्य मतका लागि अपिल गरेकी छन्।
कैलाली क्षेत्र नं. २ मा १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम बढेको छ। शाहीको उम्मेदवारीले क्षेत्रीय अधिवेशनमा महिला प्रतिनिधित्व तथा नेतृत्वको विषयलाई समेत चर्चामा ल्याएको छ।


.jpeg)








प्रतिकृया दिनुहोस