धनगढीमा विविध कार्यक्रमसहित विश्व मानवीय दिवस मनाइयो

लम्की /  अगस्ट १९ अर्थात् विश्व मानवीय दिवस सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। यस वर्ष “समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको आयोजना तथा प्रदेशमा कार्यरत रेडक्रस  लगायत विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा दिवसका अवसरमा प्रभातफेरी, रक्तदानलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो।

प्राकृतिक तथा मानवसिर्जित विपद्को जोखिम न्यूनीकरण, विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत तथा दीर्घकालीन र दिगो पुनर्स्थापनाका लागि स्थानीय समुदायको सशक्तीकरण र सरोकारवालाबीचको प्रभावकारी साझेदारी अपरिहार्य रहेको कार्यक्रममा जोड दिइएको थियो।

 

यस वर्षको नाराले आत्मसात् गरेको भावनाअनुसार मानवीय कार्यलाई थप प्रभावकारी, उत्तरदायी र समुदायकेन्द्रित बनाउन आगामी दिनका रणनीति, पूर्वतयारी तथा विपद् प्रतिकार्यका योजनामाथि निरन्तर छलफल र सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

दिवसको अवसरमा धनगढीमा प्रभातफेरीसमेत आयोजना गरिएको थियो। त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। रक्तदान कार्यक्रममा रगत संकलन गर्ने कार्य भएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशीले जानकारी दिनुभयो।

मानवीय सहायता, विपद् व्यवस्थापन तथा प्रभावित समुदायको संरक्षणमा सरकार, सामाजिक संघ–संस्था, स्वयंसेवक र स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै लैजानुपर्नेमा कार्यक्रमले जोड दिएको छ।

 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, एनजीओ फेडेरेसन सुदूरपश्चिमका अध्यक्ष, एआईएनका सुदूरपश्चिम  संयोजक र नेपाल रेडक्रस साेसाइटी कैलाली शाखाका  सभापति लाेकराज जाेशी लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रमुख  तथा प्रतिनिधहरूकाे सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस