शहिद स्मृति मावि लम्कीमा नतिजा प्रकाशन तथा क्लबका पदाधिकारीलाई अभिमुखीकरण

लम्की / लम्कीचुहा नगरपालिका–१, पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विद्यालयमा गठित विभिन्न क्लबका पदाधिकारी एवं सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आज ( शुक्रबार ) सम्पन्न भएको छ।

 

विद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिको समीक्षा गर्दै आगामी सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा कक्षा ६ देखि १० सम्म सञ्चालित प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

 

नतिजा प्रकाशनसँगै विद्यार्थीहरूको सिकाइ उपलब्धि, नियमित अध्ययन, अनुशासन तथा आगामी दिनमा शैक्षिक सुधारका लागि गर्नुपर्ने प्रयासका विषयमा समेत चर्चा गरिएको थियो।

 

कार्यक्रममा विद्यालयमा गठन गरिएका युवा रेडक्रस सर्कल, बाल क्लब र इको क्लबका पदाधिकारी तथा सदस्यहरूलाई उनीहरूको संस्थागत परिचय, उद्देश्य, काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई क्लबमार्फत विद्यालय तथा समुदायमा मानवीय सेवा, वातावरण संरक्षण, बालअधिकार, सरसफाइ, विपद् व्यवस्थापन, नेतृत्व विकास, सामाजिक उत्तरदायित्वलगायतका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको थियो।

अभिमुखीकरणका क्रममा क्लब केवल नामका लागि गठन गरिने नभई विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता, निर्णय क्षमता, सहकार्य र सामाजिक उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण माध्यम भएको विषयमा जोड दिइएको थियो। क्लबका पदाधिकारी तथा सदस्यहरूले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा समेत जोड दिइएको थियो।

 

विद्यालय स्तरीय परीक्षा समिति संयोजक धनबिर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशी, सहायक प्रधानाध्यापक नरेशबहादुर थापा, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो।

उहाँले विद्यार्थी जीवनमै नेतृत्व, अनुशासन, सेवा भावना र सामाजिक उत्तरदायित्वको विकास गर्न सके भविष्यमा जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रमले एकातर्फ विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाको नतिजामार्फत शैक्षिक अवस्थाको जानकारी गराएको छ भने अर्कोतर्फ विद्यालयमा गठित क्लबहरूलाई सक्रिय र उद्देश्यपरक रूपमा परिचालन गर्ने आधारसमेत तयार गरेको विद्यालयले जनाएको छ।

 

विद्यालयमा हुने यस्ता कार्यक्रमले विद्यार्थीको पढाइसँगै उनीहरूको नेतृत्व क्षमता, सामाजिक व्यवहार, सिर्जनशीलता, सेवाभाव र वातावरणप्रतिको जिम्मेवारी विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्लबका गतिविधिलाई आगामी दिनमा थप व्यवस्थित गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस