मोन्था चक्रवातको नेपालमा प्रभाव, काठमाडौंमा २४, मधेस–कोशीमा ३६ घन्टासम्म ठुलो पानी पर्ने अनुमान, कैलालीमा हल्का पानी पर्ने
लम्की / कैलाली लगायत तराई क्षेत्रमा आज दिनभर केही ठाँउमा बादल लागेर थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि कैलालीको लम्कीचुहा लगायत आसपासका क्षेत्रमा बादल लागेर हल्का पानी परिरहेको छ ।
आज दिउँसो पहाडी क्षेत्रमा समेत केही ठाउँमा बादल लागेर एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा भने साधारणतया बादल लागेर केही स्थानहरुमा हल्का पानी पर्नुका साथै मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजराती कैलाली लगायत सुदूरपश्चिमको तराई क्षेत्रमा साधारणतया बादल लागेर थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा समेत आज दिनभर बादल लागेर केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा भने केही ठाउँमा हल्का पानी पर्ने र मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोली कार्तिक १४ गते शुक्रबारका दिन सुदूरपश्चिमको तराई क्षेत्रमा साधारणतया बादल लागेर थोरै स्थानमा हल्का पानी पर्ने, पहाडी क्षेत्रमा साधारणतया बादल लागेर थोरै स्थानमा हल्का पानी पर्नेे र हिमाली क्षेत्रमा साधारणतया बादल लागेर थोरै स्थानमा हल्का पानी पर्नुका साथै मध्यम हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मोन्था चक्रवातः काठमाडौंमा २४, मधेस–कोशीमा ३६ घन्टासम्म ठुलो पानी पर्ने अनुमान
बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको छ। बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का पानी परिरहेको छ।
यो चक्रवातले भित्र्याउन सक्ने प्रणालीका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठुलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। त्यस्तै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। लम्जुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।
मौसमविद् विनोद पोखरेलले भने बुधबार रातिबाट आएको प्रणालीले नेपालको धेरै ठाउँमा पानी पार्ने बताउनु भएको छ ।उहाँका अनुसार काठमाडौं लगभग २४ घन्टासम्म पानी पर्ने प्रक्षेपण छ। मधेस र कोशीमा ३६ घन्टासम्म पानी पर्ने विभिन्न मोडलले देखाएको उहाँले बताउनुभयो ।









प्रतिकृया दिनुहोस