भोटेकोशी बाढी प्रभावित कैलालीका १४ परिवारलाई कैलाली रेडक्रसको राहत
लम्की / नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित कैलालीका १४ परिवारलाई राहत सामग्री वितरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा जोशीपुर, जानकी र घोडाघोडी उपशाखाको समन्वयमा बाढीका कारण प्रभावित तथा परिवारका सदस्य बेपत्ता भएका परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
भोटेकोशी बाढीबाट प्रभावित जोशीपुर गाउँपालिकाका ९, घोडाघोडी नगरपालिकाका १ र जानकी गाउँपालिकाका ४ गरी १४ परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले जानकारी दिनुभयो।
ज्याला मजदुरीका लागि रसुवा पुगेका कैलालीका मजदुरहरू भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएपछि उनीहरूका परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको सभापति जोशीले बताउनुभयो।
आउँदै गरेको दशैंलाई समेत मध्यनजर गर्दै प्रत्येक परिवारलाई करिब एक महिनासम्म पुग्ने गरी ५० किलो चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, भुजा लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको छ।
विपद्का कारण आम्दानीको स्रोत प्रभावित भएका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नुका साथै चाडपर्वका समयमा केही राहत पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको रेडक्रसले जनाएको छ।
राहत सामग्री वितरण कार्यक्रममा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, उपाध्यक्ष रेखादेवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत अमितकुमार शाह, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशी तथा जोशीपुर उपशाखाका सभापति बिक्रम चौधरीलगायतको सहभागिता रहेको थियो।
त्यस्तै, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर रावतको समन्वयमा घोडाघोडी नगरपालिका तथा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको समन्वयमा जानकी गाउँपालिकामा समेत प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्को समयमा स्थानीय तह, रेडक्रस तथा अन्य सरोकारवाला निकायबीचको समन्वयले प्रभावित परिवारसम्म तत्काल राहत पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
रेडक्रस कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको विशेष पहल तथा समन्वयमा राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइएको हो। विपद्को समयमा मानवीय सेवामा अग्रपंक्तिमा रहेर काम गर्दै आएको रेडक्रसले प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। भोटेकोशी बाढीका कारण परिवारका सदस्य प्रभावित तथा बेपत्ता भएपछि आर्थिक र मानसिक समस्यामा रहेका परिवारलाई खाद्यान्न सहयोगले केही राहत पुगेको स्थानीयको भनाइ छ।
नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाले ‘मानवताका लागि मानवीय सेवा’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै विपद्मा परेका तथा समस्यामा रहेका नागरिकको साथमा निरन्तर उभिने प्रतिबद्धता जनाएको छ। राहत सामग्री व्यवस्थापन तथा वितरणमा सहयोग गर्ने स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा, जोशीपुर उपशाखाका पदाधिकारी तथा सहयोगी सबैप्रति उपशाखाले आभार व्यक्त गरेको छ।
विपद्को समयमा पीडित परिवारलाई गरिएको यस्तो मानवीय सहयोगले सामाजिक एकता, सहकार्य र मानवीय सेवाको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।








प्रतिकृया दिनुहोस