विकास निर्माणमा आलोचनाभन्दा सहकार्य आवश्यक : सांसद केपी खनाल
लम्की / कैलाली निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद केपी खनालले विकास निर्माणका काममा आलोचना मात्र गर्नुभन्दा सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ।
लम्की महोत्सव–२०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले वर्तमान सरकार राजनीतिक स्वार्थभन्दा सेवामुखी अवधारणाका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो। सरकारले एक वर्षभित्र नतिजा देखिने गरी काम गरिरहेको बताउँदै उहाँले विकास निर्माणका काममा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
आफू विकासका काममा सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै सांसद खनालले कैलाली क्षेत्र नं. २ का महत्वपूर्ण विकास आयोजनाबारे पनि जानकारी गराउनुभयो। उहाँले चिसापानीदेखि मोहन्याल हुँदै बर्दगोरियासम्म जोडिने रणनीतिक सडक निर्माण तथा लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने काम अघि बढिरहेको जानकारी दिनुभयो। महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले आयोजक संस्थालाई धन्यवादसमेत दिनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि संघीय सांसद प्रेमबहादुर बयकले स्थानीय व्यापारलाई चलायमान बनाउन लम्कीचुहा उद्योग वाणिज्य संघले गरेको प्रयासको प्रशंसा गर्दै महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो। तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले केही व्यक्तिले रोजगारीका नाममा शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो।
सुदूरपश्चिम प्रदेशसभा सदस्य रामेश्वर चौधरीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै डुडेझारीमा औद्योगिक क्षेत्र स्थापना गर्न कानुनी अवरोध रहेको बताउनुभयो। प्रदेश सरकारमा रहँदा कृषि क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न काम गरिएको पनि उहाँले उल्लेख गर्नुभयो।
त्यस्तै, निवर्तमान जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापाले लम्कीचुहा उद्योग वाणिज्य संघको स्थापना र सञ्चालनमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संस्थाले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। संघले विगत २१ वर्षदेखि व्यापार, कृषि र पर्यटनको विकासका लागि निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो। राजकाँडाको पर्यटन विकासको प्रसंग जोड्दै थापाले आफू पाँच सयभन्दा बढी पटक त्यहाँ पुगेर आजको राजकाँडा निर्माणको आधार तयार पार्न योगदान गरेको उल्लेख गर्नुभयो।
लम्कीचुहाका निवर्तमान नगर प्रमुख महादेव बजगाईले महोत्सवले स्थानीय व्यापार प्रवर्द्धनमा सहयोग पुर्याउने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विकासका लागि धेरै समय नलाग्ने उदाहरणका रूपमा उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकारका नीति तथा कार्यक्रम अध्ययन गर्न आग्रह गर्नुभयो। सरकारमा राम्रो पहुँच रहेको दाबी गरिए पनि कैलाली क्षेत्र नं. २ मा ठूला आयोजना नदेखिएको भन्दै उहाँले उक्त दाबीमाथि प्रश्न उठाउनुभयो।
उद्घाटन समारोहमा आयोजक संस्थाका तर्फबाट बद्रीप्रसाद ढकाल, रिभरसाइड यातायात प्रालिका जनकबहादुर शाही, व्यापारीक संस्थाका तर्फबाट मदनराज न्यौपाने, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य पदमराज चौलागाईं, सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्प कुँवर तथा लम्कीचुहा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नेत्रप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले महोत्सवको सफलताको कामना गर्दै यसले स्थानीय कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सेनाले सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, पर्यटन प्रवर्द्धन र संस्थागत पूर्वाधार निर्माणसँग जोड्ने प्रयास गरिएको बताउनुभयो।
महोत्सवले स्थानीय उत्पादन, व्यापार, कृषि, शिक्षा र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। ‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा ६० हजार दर्शक भित्र्याउने लक्ष्यसमेत राखिएको छ।
लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन समारोहमा संघीय सांसद प्रेमबहादुर बयक, प्रदेशसभा सदस्य रामेश्वर चौधरी, निवर्तमान जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, निवर्तमान नगर प्रमुख महादेव बजगाई, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सो अवसरमा लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले संस्थाका तर्फबाट तयार पारिएको पाँचबुँदे ज्ञापनपत्र प्रमुख अतिथि सांसद केपी खनालसमक्ष प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका प्रमेश्वर कार्की, सञ्चार क्षेत्रमा योगदान पुर्याउनुभएका बुद्धिमान जैसी (वसन्त) र कृषि क्षेत्रमा योगदान पुर्याउनुभएका मायाराम जैसीलाई दोसल्लासहित सम्मान गरिएको थियो।
मंसिर १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेशका लागि साधारण टिकट दर १०० रुपैयाँ, विद्यार्थीका लागि ८० रुपैयाँ र सिजनल टिकट ७०० रुपैयाँ निर्धारण गरिएको छ। स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टल बुकिङमा २५ प्रतिशत छुट तथा फर्म दर्ता र नवीकरण गर्ने व्यवसायीलाई निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ। त्यस्तै, फर्म नवीकरण शुल्कमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ।







प्रतिकृया दिनुहोस