लम्की महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा, भोलि सांसद केपी खनालले भव्य समारोहबीच उद्घाटन गर्नुहुने

लम्की /  लम्की महोत्सव–२०८३ भोलि (मंसिर १० गते) देखि सुरु हुँदैछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महोत्सवको एक भव्य समारोहबीच कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनालले उद्घाटन गर्नुहुने आयोजक लम्कीचुहा उद्योग वाणिज्य संघले जनाएको छ ।

 

लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा टीकापुर रोडस्थित खुला मैदानमा मंसिर २१ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष तथा लम्की महोत्सव–२०८३ मूल आयोजक समितिका संयोजक दीपककुमार तिमिल्सैनाले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभएको छ।

 

‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, कृषि प्रदर्शनी, रमाइलो मेला, थारू गाउँ तथा विभिन्न व्यापारिक स्टलहरू रहनेछन्।

 

महोत्सवमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। स्थानीय व्यापारीहरूको सहभागिता र व्यापार प्रवर्द्धनलाई प्राथमिकता दिँदै स्टल बुकिङमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष तिमिल्सैनाले बताउनुभयो। उहाँका अनुसार स्थानीय व्यापारीले आफ्नो फर्म दर्ता तथा नवीकरण गरेमा महोत्सवको प्रवेश पाससमेत निःशुल्क उपलब्ध गराइनेछ।

 

त्यसैगरी, महोत्सव अवधिमा फर्म नवीकरण गर्न आउने व्यापारीलाई नवीकरण शुल्कमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको संघका महासचिव पुष्पराज ढकालले जानकारी दिनुभयो।

 

महोत्सव अवलोकनका लागि साधारण टिकटको मूल्य एक सय रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, सिजनल टिकटको मूल्य सात सय रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ।

 

महोत्सवबाट प्राप्त हुने आम्दानी संस्थाको निर्माणाधीन भवनलाई पूर्णता दिनुका साथै संस्थाको दैनिक प्रशासनिक कार्य सञ्चालनमा उपयोग गरिने अध्यक्ष तिमिल्सैनाले बताउनुभयो। संघले आफ्नो तीनवर्षे कार्ययोजनाअन्तर्गत चिसापानी बजारदेखि चुहा बजारसम्मका मुख्य चोकहरूमा सर्वसाधारणका लागि तातो तथा चिसो पानी पिउन मिल्ने ट्यांकी स्थापना गर्ने योजना अघि सारेको छ।

 

यस वर्षको महोत्सवमा स्टल व्यवस्थापनलाई विगतभन्दा फरक र आकर्षक बनाइएको आयोजकले जनाएको छ। महोत्सव परिसरमा मनोरञ्जनका विभिन्न गतिविधिसहित रमाइलो मेला, थारू गाउँ तथा अन्य आकर्षक प्रदर्शनीहरू रहनेछन्।

 

महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै विद्यार्थीहरूबीच नृत्य प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

स्थानीय उत्पादन, व्यापार, कला, संस्कृति, पर्यटन र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको लम्की महोत्सव–२०८३ ले लम्कीचुहाको आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिमा थप ऊर्जा प्रदान गर्नुका साथै स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस