कांग्रेसको कैलाली जिल्ला अधिवेशन मंसिर १२ गतेसम्म सर्यो, सभापतिका ८ जना आकांक्षीबीच रस्साकस्सी
लम्की / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको नेतृत्वका लागि आकांक्षीहरूबीच रस्साकस्सी बढेको छ। सभापति पदका लागि खेम चौधरी, नवराज रावल, शेरबहादुर देउवा, वीरेन्द्र भट्ट, यज्ञ उपाध्याय, विनय लामालगायत आठ जना आकांक्षी देखिएका छन्।
आकांक्षीको संख्या बढ्दै जाँदा जिल्ला नेतृत्व चयनमा सहमतिको वातावरण बन्न सकेको छैन। सर्वसम्मत नेतृत्व चयन गर्ने उद्देश्यले बिहीबार भएको छलफलमा सबै आकांक्षी सहभागी भए पनि आ–आफ्ना अडान कायम राखेपछि सहमति जुट्न सकेन।
सहमति कायम हुन नसकेपछि पूर्वनिर्धारित मंसिर १ गते हुने भनिएको जिल्ला अधिवेशन प्रभावित भएको छ। नेपाली कांग्रेसले कैलाली जिल्ला अधिवेशन मंसिर १२ गतेसम्मका लागि सारेको जनाएको छ।
यसअघि कार्तिक १९ गते धनगढीमा आयोजित जिल्ला अधिवेशनको तयारी तथा समसामयिक विषयसम्बन्धी छलफलले मंसिर १ गते अधिवेशन गर्ने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले जिल्ला नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताउनुभएको छ। उहाँले महाधिवेशनलाई सार्थकता दिन वडादेखि नै सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने अभ्यास भइरहेको उल्लेख गर्दै कैलाली जिल्लाको नेतृत्व पनि सर्वसम्मत रूपमा चयन हुने विश्वास व्यक्त गर्नुभएको छ।
सभापति पदका लागि आठ जना आकांक्षी देखिएपछि कैलाली कांग्रेसको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय पार्टीभित्र चासो र चर्चाको विषय बनेको छ। अधिवेशनको मिति सरेसँगै आकांक्षीहरूबीच सहमति जुट्छ वा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ भन्ने चासोसमेत बढेको छ।








प्रतिकृया दिनुहोस