कैलाली क्षेत्र नम्बर २ को शान्ति सुरक्षामा सांसद खनालको चासो, सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धता

 लम्की /   कैलाली क्षेत्र नम्बर २ को शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, व्यवस्थित र भरपर्दो बनाउन जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ।

 

कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनालको पहलमा शुक्रबार साँझ इलाका प्रहरी कार्यालय लम्कीमा आयोजित छलफलमा जिल्लाको समग्र शान्ति सुरक्षा, चाडपर्व लक्षित सुरक्षा योजना, प्रहरी जनशक्ति अभाव, भौतिक संरचना निर्माण तथा जनसरोकारका विविध विषयमा छलफल गरिएको हो।

 

छलफलमा सांसद खनालले यस क्षेत्रको शान्ति सुरक्षा र इलाका प्रहरी कार्यालय लम्कीको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले इलाका प्रहरी कार्यालय लम्कीको भौतिक संरचना निर्माणका लागि चालु आर्थिक वर्षमै बजेट सुनिश्चित भइसकेको जानकारी दिँदै प्रहरी जनशक्ति थप गर्ने विषयमा समेत पहल अघि बढाइएको बताउनुभयो।

 

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सुरक्षा निकाय अहोरात्र खटिरहेको बताउनुभयो। चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा रहेको उल्लेख गर्दै उहाँले नागरिकलाई ढुक्कसँग तिहार मनाउन आग्रह गर्नुभयो। सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नागरिकको सहयोग र समन्वय पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।

 

यसैगरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा विशेष निगरानी राख्न आग्रह गर्नुभयो। लागुऔषध दुर्व्यसन नियन्त्रण तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले समाजका हरेक तह र तप्काका नागरिकको साथ, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

 

छलफलका क्रममा सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण, चोरी तथा आपराधिक गतिविधि रोकथाम, बजार क्षेत्रको सुरक्षा व्यवस्थापन र नागरिकका गुनासोको समयमै सम्बोधन गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।

 

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरीको जनशक्ति र स्रोतसाधन वृद्धि गर्नुका साथै स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाज, व्यवसायी तथा आम नागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो। कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, प्रहरी अधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस