लम्कीमा जानकी फुड्स सञ्चालनमा, २० भन्दा बढी नेपाली मौलिक परिकार उपलब्ध
लम्की, कैलाली / कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्कीमा नेपाली मौलिक स्वादका २० भन्दा बढी प्रकारका परिकार उत्पादन तथा बिक्री गर्ने उद्देश्यसहित जानकी फुड्स सञ्चालनमा आएको छ। आज घटस्थापनाको अवसरमा आईतबार बिहान एक कार्यक्रमकाबीच लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले जानकी फुड्स उद्घाटन गर्नु भएको हो ।
सामान्य भान्साबाट सेलरोटी र अचार बनाउने काम सुरु गरेकी स्थानीय महिला उद्यमी जानकी रावत थापाले आफ्नो मेहनत, सीप र निरन्तर प्रयासबाट घरेलु व्यवसायलाई व्यावसायिक स्वरूप दिनुभएको हो।
जानकी फुड्समा विभिन्न प्रकारका अचार, टिमुरको छोब, तामा डल्ले, खजुरी बिस्कुट, खुर्मा रोटी, प्रोटिन लड्डु, कोदोको खजुरी बिस्कुट, सुत्केरी मसला, निम्की, फुरनदाना, दालमोट, सेलरोटी, फिनी रोटीलगायतका परिकार उपलब्ध छन्।
सानैदेखि उद्यमशील काममा रुचि राख्ने थापाले सुरुमा घरमै अचार र सेलरोटी बनाएर बिक्री गर्दै आउनुभएको थियो। उहाँले तयार गरेका परिकार स्थानीय ग्राहकले मन पराउन थालेपछि विभिन्न ठाउँबाट अर्डरसमेत आउन थालेको थियो। गत वर्ष लम्की महोत्सवमा सेलरोटी तथा खाजाको स्टल राख्नुभएकी थापाले लम्कीचुहा नगरपालिकाबाट महिला उद्यमशीलतासम्बन्धी तालिमको अवसरसमेत प्राप्त गर्नुभएको थियो।
श्रीमान् तथा परिवारको साथ र सहयोग पाएपछि उहाँले आफ्नै घरमा जानकी फुड्स सञ्चालनमा ल्याउनुभएको हो। उहाँले आफ्ना उत्पादनलाई स्थानीय बजारसँगै देशका विभिन्न ठाउँ र विदेशसम्म पुर्याउने लक्ष्य राख्नुभएको छ।
जानकी फुड्सको उद्घाटन कार्यक्रममा बोल्दै लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार तिमिल्सेनाले रोजगारीका लागि नेपाली युवाहरू विदेशिने क्रम बढिरहेका बेला आफ्नै ठाउँमा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्नु खुसीको विषय भएको बताउनुभयो।
लम्कीचुहा नगरपालिका–१ का वडा सदस्य सिद्धराज तिमिल्सेनाले साना उद्योगी तथा व्यवसायीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
वडाध्यक्ष नेत्रप्रसाद खनालले महिला उद्यमीको संघर्ष र मेहनतको कदर गर्दै उहाँहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले जानकीको मेहनत र संघर्षको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजसेवी तथा राष्ट्रिय सभाका पूर्वसदस्य कमला कुमारी ओलीले स्वदेशमै केही गर्न चाहने महिला उद्यमीलाई राज्यले प्रोत्साहन र हौसला दिनुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागी जनप्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरूले जानकी फुड्सको सफलताको शुभकामना व्यक्त गरेका थिए।
सामान्य भान्साबाट सुरु भएको प्रयासलाई आफ्नै व्यवसायमा रूपान्तरण गर्नुभएकी जानकी रावत थापाको यो पहलले स्थानीय सीप, नेपाली मौलिक स्वाद र महिला उद्यमशीलतालाई जोडेको छ। उहाँको प्रयासले आफ्नै ठाउँमा मेहनत र सीपको सदुपयोग गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।



.jpeg)




प्रतिकृया दिनुहोस