बर्दगोरियामा कांग्रेसको पालिका अधिवेशन सम्पन्न, सभापतिमा प्रमोद मल्ल निर्विरोध

लम्की /  नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बर्दगोरिया गाउँपालिकामा देउवा पक्षको नयाँ गाउँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनबाट प्रमोद मल्ल गाउँपालिका सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो।

 

उहाँसँगै गाउँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। पालिका अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको थियो।

 

उद्घाटन कार्यक्रममा बोल्दै नेता शाहले पार्टीलाई थप मजबुत, एकताबद्ध र व्यवस्थित बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो। नेपाली कांग्रेस एकताबद्ध भए मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कुनै पनि परिस्थितिमा विचलित नहुन आग्रह गर्नुभयो। शाहले पार्टीभित्रको एकता कायम गर्दै संगठनलाई थप सुदृढ बनाउन सबै तहका नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

अधिवेशनका क्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले पार्टीको संगठन सुदृढीकरण, एकता र आगामी राजनीतिक यात्राबारे धारणा राखेका थिए। बर्दगोरियामा सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएसँगै पालिका तहको संगठन निर्माणले पूर्णता पाएको छ।

 

कार्यक्रममा  पूर्वमहाधिवेशन प्रतिनिधि जनक बम, धर्मराज न्यौपाने, सूर्यबहादुर बटाला, नेपाली कांग्रुका नेता लब बहादुर शाही लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस