बाढी, पहिरो र डुबानको पछिल्लो अवस्था कस्तो छ ? देशभरको अपडेटसहित
काठमाडौं / नारायणी र सहायक नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९ मिटर मानिएकामा हाल जलसतह करिब ११ मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ।
देवघाट बाढी मापन केन्द्रमा आज बिहान ११ बजे वरपर जलसतह बढेर अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको छ।
यसैगरी, नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मस्र्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।
चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकहरूलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरिएको छ। नारायणी नदी र यसका सहायक नदीहरूका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न भनिएको छ।
पछिल्लो १२ घण्टामा बागलुङको दरवाङ, स्याङजाको पञ्चमूल शिरुवारी, पन्चासे, चापाकोट, अत्रोलीटार, पाल्पाको कुमालगाउँ, नवलपुरको देउराली त्रिवेणी, बर्दघाट, दम्कौली, भरतपुर लगायतका क्षेत्रमा १२० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ। ती क्षेत्रमा पछिल्लो ३ घण्टामा पनि भारी वर्षा भएको छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै जाँदा आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम कम हुँदै गएको छ।
मौसविद्हरुका अनुसार आजबाट बागमति प्रदेशदेखि पूर्वतिरका जिल्लामा वर्षा रोकिने सम्भावना छ। कोशी प्रदेशबाट यो प्रणाली बाहिरिसकेको छ। आजबाछ मधेश र बागमतीमा रहेको हल्का प्रभाव हट्ने सम्भावना छ। आज अपराह्नदेखि कोशी, मधेशका साथै काठमाडौं उपत्यकासहित बाग्मतीमा उल्लेख्य सुधार देखिने सम्भावना छ।
तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पनि आज पनि वर्षा जारी रहने छ। यद्यपि अघिल्ला दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन्।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो। यस्तै, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
मस्र्याङ्दी नदी थुनिएपछि मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। नासों गाउँपालिका १ स्थित उक्त गाउँ नदीको बहाव थुनिएर जलमग्न भएको हो। गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने भनभएको खबर आएको छ। यसअघि २०७८ सालमा बाढीले बगेको उक्त ताल केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको हो।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ। यस्तै स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीवेणी अविरल वर्षाका कारण डुबानमा परेको छ। कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि बस्ती डुबानमा परेको हो।
पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ। नाम्सी खोला पुलमाथि लेदो सहितको पहिरो खस्दा आज बिहान करिब ८ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ। पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको छ।
पहिरो हटाउन करिब दुई घण्टासम्म समय लाग्नेछ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका–१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।
नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ। पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ। गाडी चलाउन सक्ने अवस्था नरहेको बेनीघाट रोराङ गाउँपालिका–७ का अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो।
प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स–साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा छ। अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेका कारण कान्तिलोकपथ अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
उहाँका अनुसार अविरल वर्षाका कारण यी दुई ठाउँमा गएराति पहिरो खसेको हो। यसैगरी आज बिहान टिकाभैरवमा रुख ढल्दा सडक अवरुद्ध बनेको छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ।
यसैबीच, पाँचथरको तमोर कोरिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू पनि पहिरो र बाढीका कारण पूर्ण अवरुद्ध छन्। काभ्रेको रोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा बीपी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको छ।
उता, घोराही–थवाङ रुकुम सहिदमार्ग सकड खण्ड, गोरुसिंगे–सन्धिखर्क सडक, गुल्मीस्थित मदनभण्डारी राजमार्ग, रुद्रबिनी वाटीटक्सार सडक, कालिगण्डकी करिडोर, तुल्सिपुर–घोराही सडक र पाल्पा जोड्ने सिद्धार्थ राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको छ। यस्तै कर्णाली राजमार्ग, राप्ती राजमार्ग, कर्णाली करिडोर क्षेत्र, नाग्म गमगढी सडक लगायत पनि पूर्णरुपमा अवरुद्ध भएका छन्।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा यसअघि नै सवारी आवागमनमा रोक लगाइएको छ भने निरन्तरको वर्षाले अधिकांश राजमार्ग पहिरोबाट प्रभावित भएका छन्। यस्तै लमजुङ, कास्की, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, बागलुङ र तनहुँका विभिन्न सडक खण्डहरूमा बाढी र पहिरोको जोखिम उच्च रहेको छ।
मनाङ र लमजुङ जोड्ने सडकखण्ड तथा मुस्ताङको जोमसोम–कोर्ला सडकखण्ड, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, बागलुङको मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर तथा तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा क्षेत्रमा गएको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ।
स्रोतः थाहा खबरबाट साभार









प्रतिकृया दिनुहोस