कर्णाली नदीको जलसतह बढ्दो, चिसापानीमा ८.१० मिटर मापन

लम्की /   कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। आज बिहान ८ः२० बजे चिसापानीस्थित कर्णाली नदीको गेजमा पानीको सतह ८.१० मिटर मापन गरिएको छ।
 
 
कर्णाली नदीस्थित चिसापानी गेज रिडर पार्वती गुरुङका अनुसार नदीको जलसतह बिस्तारै बढिरहेको छ। सोलार प्रणालीमा समस्या आएपछि स्वचालित मापन प्रणाली सञ्चालनमा नरहेको र हाल म्यानुअल रूपमा पानीको सतह मापन भइरहेको गुरुङले जानकारी दिनुभयो।
 
 
उहाँका अनुसार अहिले पानी पर्न रोकिए पनि नदीमा पानीको बहाव भने बढ्दो क्रममा छ। हाल कर्णाली नदीको जलसतह सतर्कता तहमा पुगेको छैन। कर्णाली नदीमा १० मिटर पानीको सतह पुगेपछि चेतावनी तह र १०.८ मिटर पुगेपछि खतरा तह मानिन्छ। १० मिटरभन्दा माथि जलसतह पुगेमा तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नदी आसपासका बस्तीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
 
 
 
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कोषाध्यक्ष मार्कण्य उपाध्यायका अनुसार अहिले नै तटीय क्षेत्रका स्थानीयले आत्तिनुपर्ने अवस्था नरहे पनि नदीको सतह निरन्तर बढिरहेकाले पूर्वसावधानी अपनाउन आवश्यक छ। सम्बन्धित निकायले कर्णाली नदीको जलसतह र बहावमा निरन्तर निगरानी गरिरहेको जनाउँदै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनावश्यक रूपमा नदीतर्फ नजान, जोखिमयुक्त स्थानमा नबस्न र जलसतह बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरेका छन्। हाल कर्णाली नदी सामान्य अवस्थामा रहे पनि पानीको बहाव बढ्दो क्रममा रहेकाले सबैलाई सचेत र सतर्क रहन अनुरोध गरिएको छ।
 

प्रतिकृया दिनुहोस