लम्कीमा रक्तदान कार्यक्रम, १ सय ३६ पिन्ट रगत संकलन
लम्की / लम्कीमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३६ पिन्ट रगत संकलन भएको छ।
लम्कीचुहा नगरपालिका–१, लम्कीस्थित बसपार्कमा सोमबार सयपत्री कला प्रतिष्ठान लम्कीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र, नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा १ सय ३६ पिन्ट रगत संकलन भएको पत्रकार चन्द्रप्रसाद खनालले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभएको छ।
सयपत्री कला प्रतिष्ठान लम्कीका अध्यक्ष राजबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा रक्तदान कार्यक्रमको उद्घाटन लम्कीचुहा नगरपालिका–१ का वडाध्यक्ष नेत्रप्रसाद खनालले गर्नुभएको थियो। यस्तै, रक्तदान समापन कार्यक्रममा वडा सदस्य सिद्धराज तिमिल्सैना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव प्रेमराज मुडभरी, समाजसेवी पार्वती विकलगायतले रक्तदानको महत्त्वबारे बोल्दै ‘रक्तदान नै महादान’ भएको बताउनुभएको थियो।
‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।









प्रतिकृया दिनुहोस