भोटेकोसी बाढीपीडितका लागि कैलाली रेडक्रसद्वारा एक लाख सहयोग
लम्की / नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसका अवसरमा कैलाली जिल्ला शाखाको कार्यालयमा आयोजित कार्यक्रममा शाखाले बाढी प्रभावितका लागि उक्त सहयोग रकम प्रदान गरेको हो।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य मन्जु साउदलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। शाखाको आन्तरिक कोषबाट उपलब्ध गराइएको उक्त रकम नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कैलाली जिल्ला शाखाले जनाएको छ। विपद्का बेला पीडितको साथमा उभिनु र मानवीय सेवामा योगदान गर्नु रेडक्रसको प्रमुख दायित्व भएकाले आफ्नो क्षमताअनुसार सहयोग गरिएको शाखाको भनाइ छ।
कार्यक्रममा आर्थिक सहयोगसँगै कैलाली जिल्ला शाखामा संकलन गरिएका विभिन्न प्रकारका राहत सामग्रीसमेत केन्द्रीय कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइएको छ। शाखाका अनुसार प्रभावित परिवारका लागि आवश्यक सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री, स्वास्थ्यसम्बन्धी औषधि तथा सामग्री, सुख्खा खाना (ड्राई फुड) लगायतका राहत सामग्री संकलन गरी आजै केन्द्रीय कार्यालयमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो।
प्राकृतिक विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सामग्रीको अभाव हुन नदिन राहत सामग्री पठाइएको शाखाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य, सरसफाइ तथा पुनःस्थापनाका गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले शाखाले उपलब्ध स्रोतसाधन परिचालन गरेको हो।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले विपद् र संकटका समयमा पीडित नागरिकको साथमा रहनु रेडक्रसको मूल भावना भएको बताउनुभयो। उहाँले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न शाखाले आर्थिक तथा राहत सामग्री उपलब्ध गराएको उल्लेख गर्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, शाखाका मन्त्री राकेश हमालले विपद्का बेला राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। रेडक्रसले मानवीय सेवाको आफ्नो मूल उद्देश्यअनुसार विपद् प्रभावित नागरिकका लागि राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै कैलाली शाखाले पनि आफ्नो जिम्मेवारीअनुसार सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य मन्जु साउदले कैलाली जिल्ला शाखाले विपद् प्रभावित नागरिकका लागि गरेको आर्थिक तथा राहत सामग्री सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहमा रहेका रेडक्रस शाखा, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको सक्रियताले विपद्को समयमा प्रभावित समुदायसम्म राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जन्मदाता हेनरी ड्युनाको शालिकमा माल्यार्पण समेत गरिएको थियो। मानवीय सेवाको क्षेत्रमा हेनरी ड्युनाले पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति सम्मान प्रकट गरिएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष गोबिन्द जोशी, जिल्ला कार्यसमिति सदस्य सुरत स्वार, धौली जैशी, धर्मराज जोशी लगायत शाखाका कर्मचारी, स्वयंसेवक तथा रेडक्रसकर्मीहरूको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटीले “मानवताको सेवा, सबैका लागि” भन्ने मूल भावनालाई आत्मसात् गर्दै विपद्, महामारी, दुर्घटना तथा विभिन्न संकटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको छ। कैलाली जिल्ला शाखाले पनि जिल्लामा विपद् व्यवस्थापन, रक्तसञ्चार, प्राथमिक उपचार, स्वास्थ्य तथा सरसफाइ, स्वयंसेवा र मानवीय सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टले बताउनुभयो ।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कैलाली शाखाले गरेको आर्थिक सहयोग तथा राहत सामग्री पठाउने कार्यले विपद् जुनसुकै ठाउँमा भए पनि मानवीय सेवाका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिएको छ।
स्थापना दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी विपद् प्रभावित नागरिकका लागि प्रत्यक्ष सहयोग गर्दै मानवीय सेवासँग जोडेर मनाइएको शाखाले जनाएको छ।









प्रतिकृया दिनुहोस