व्यवस्थित विद्युत सहकारीद्वारा मल वितरण, किसानलाई राहत
लम्की / कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगरमा रहेको व्यवस्थित ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा स्थानीय किसानलाई मलखाद वितरण सुरु गरेको छ । सहकारीले वडामै मल वितरण केन्द्र सञ्चालनमा ल्याएपछि मल खरिदका लागि टाढा जानुपर्ने बाध्यता हट्दा स्थानीय किसानलाई राहत भएको छ ।
बिहीबार लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी, वडा नं. ३ का अध्यक्ष लवबहादुर शाही र व्यवस्थित ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष धर्मराज तिमिल्सेनाले संयुक्त रूपमा मल वितरणको शुभारम्भ गरेका हुन् ।
मल वितरणको शुभारम्भ कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले सरकारको योजनाअनुसार एक वडामा बढीमा दुईवटासम्म वितरण केन्द्रमार्फत किसानलाई मल उपलब्ध गराउने व्यवस्था गरिएको बताइन् । सोही योजनाअन्तर्गत वडा नं. ३ मा व्यवस्थितनगर ग्रामीण विद्युत् सहकारी संस्थालाई मल वितरणको जिम्मेवारी दिइएको उनको भनाइ थियो ।
उनले वडामै किसानलाई मल उपलब्ध गराउँदा खुद्रा तथा बोराको सरकारी मूल्य निर्धारण गरिएको बताउँदै तोकिएको मूल्यभन्दा बढीमा मल बिक्री गरेको पाइएमा इजाजतपत्र रद्द हुन सक्ने चेतावनीसमेत दिइन् ।
वडा नं. ३ का अध्यक्ष लवबहादुर शाहीले वडाका किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले लामो समयदेखि गरिएको प्रयासपछि वडामै मल वितरण गर्न सफल भएको बताए । वडामै मल पाउने भएपछि यहाँका किसानले मल खरिदका लागि लम्की बजार, जानकी गाउँपालिका लगायत अन्य स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
व्यवस्थित ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मराज तिमिल्सेनाले संस्थाको चुनावी साधारणसभामा गरिएको प्रतिबद्धताअनुसार शेयर सदस्य तथा किसानलाई मल वितरण गर्न सफल भएको बताए । संस्थाबाट मल वितरणका लागि एक वर्षभन्दा लामो समयदेखि संघर्ष, विभिन्न चुनौती र सामूहिक प्रयास गर्नुपरेको उनले बताए ।
मल वितरण केन्द्र सञ्चालनमा सहयोग गर्ने वडा कार्यालय, लम्कीचुहा नगरपालिका तथा कृषि मन्त्रालय प्रति अध्यक्ष तिमिल्सेनाले धन्यवाद व्यक्त गरे । उनका अनुसार सहकारीले हाल कृषि सामग्री कम्पनी लिमिटेडबाट डिलर प्राप्त गरी मल वितरण गरिरहेको छ । किसानलाई आवश्यक समयमा सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग समेत समन्वय र छलफल भइरहेको उनले बताए ।
सहकारीले हाल १५० बोरा युरिया मल वितरण गरिरहेको छ । करिब ५५० जना शेयर सदस्य तथा किसानलाई प्रतिकठ्ठा तीन किलोग्रामका दरले मल वितरण गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, एक बिघासम्म जग्गा भएका किसानलाई ५० किलोग्रामको एक बोराका दरले युरिया उपलब्ध गराइरहेको सहकारीले जनाएको छ ।
युरिया मलको मूल्य प्रतिकिलोग्राम ३० रुपैयाँ तोकिएको छ । ५० किलोग्रामको एक बोराको मूल्य भने एक हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।









प्रतिकृया दिनुहोस