बुबाको मृत्यु, आमाको साथ छुटेपछि ९ वर्षीय हर्मनलाई प्रवासबाट सहयोगको हात
लम्की / नौ वर्षको कलिलै उमेरमा बुबा गुमाएर र आमाको साथसमेत छुटेपछि टुहुरो जीवन बिताइरहेका कैलालीको लम्कीचुहा नगरपालिका–३, व्यवस्थित नगरका हर्मन बिष्टलाई रु. ७३ हजार ४ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सामुदायिक रेडियो पश्चिम आवाज तथा सुदूरपश्चिम टेलिभिजन लम्कीका प्रवन्ध निर्देशक युवराज न्यौपाने र सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक सदस्य दीपक कठायतको पहल तथा समन्वयमा रोमानियालगायत विभिन्न देशमा रहेका नेपालीबाट संकलित उक्त रकम हर्मनका बाजे लोगबहादुर बिष्टलाई हस्तान्तरण गरिएको हो।
हाल रोमानियामा रहेका युवराज न्यौपानेले पठाएको सहयोग रकममध्ये रु. ६८ हजार ४ सय चेकमार्फत र रु. ५ हजार हर्मनको बैंक खातामा जम्मा गरी कुल रु. ७३ हजार ४ सय हस्तान्तरण गरिएको हो। पीडित परिवारकै घरमा पुगेर सामुदायिक रेडियो पश्चिम आवाजका स्टेसन म्यानेजर देवानन्द न्यौपाने, रेडियोका सञ्चालक सदस्य तथा समाजसेवी रामबहादुर बिष्ट, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थित नगरका प्रधानाध्यापक बद्रीप्रसाद जैशी तथा समाजसेवी हंस कठायतले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।
हर्मनका ३० वर्षीय बुबा मीनबहादुर बिष्टको केही दिनअघि दुवै मिर्गौला फेल भएपछि निधन भएको थियो। उनी करिब एक वर्षदेखि मिर्गौला रोगबाट पीडित थिए। परिवारका अनुसार, श्रीमान् गम्भीर बिरामी भएपछि उनकी श्रीमती केही समयअघि अर्कै व्यक्तिसँग विवाह गरेर छुट्टिएकी थिइन्।
बुबाको निधन र आमाको साथसमेत छुटेपछि हर्मन अहिले आफ्ना बाजे लोगबहादुर बिष्ट, ठूला बुबा र ठूली आमाको संरक्षणमा रहेका छन्। उनी बुबाआमाको सम्झनामा बेला–बेला भावुक बन्दै, "बुबाआमाको माया लाग्छ, धेरै सम्झना आउँछ। तर के गर्नु, बुबालाई दैवले लग्यो, आमाले छोडेर जानुभयो," भन्छन्।
एक वर्षअघि श्रीमती गुमाएका लोगबहादुर बिष्टले त्यसलगत्तै आफ्नै छोरालाई पनि गुमाउनुपरेको पीडा सुनाउँदै नातिलाई काखमा सुम्सुम्याउँदा भावुक बन्छन्। उनी भन्छन्, "भगवान् पनि कति निष्ठुरी! कसैले मरेर छोडे, कसैले जिउँदै छोडेर गए।"
लम्कीचुहा नगरपालिका–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थित नगरमा कक्षा ४ मा अध्ययनरत हर्मनको पढाइ निरन्तर बनाउन विद्यालयले आवश्यक सहयोग गर्ने प्रधानाध्यापक बद्रीप्रसाद जैशीले बताउनुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा सहभागीहरूले विपत्तिमा परेका बालबालिकालाई समाजका सबै पक्षबाट साथ र सहयोग आवश्यक रहेको भन्दै हर्मनको उज्ज्वल भविष्यका लागि सहयोगको भावना अझ विस्तार हुनुपर्नेमा जोड दिएका थिए।
यसैगरी रोजगारीको लागि अहिले रोमानियमा रहेका पत्रकार युवराज न्यौपाने र समाजसेवी दिपक कठायत लगायत छविराज तिमिल्सेना, मिहाइ क्रिस्टी,युवराज न्यौपाने, दीपक कठायत, भरत क्षेत्री, विवेक खनाल, अपिल चन्द, छिरिङ तामाङ, प्रेम गजमेर, प्रेम खनाल, सोनाम गुरुङ, अर्जुन बोहरा, सुरोज तामाङ, सुसन सापकोटा, दुर्गा चौधरी, पटवारी राना, रोहित तामाङ, सञ्जय उपरकोटी, हिमाल धरती मगर, अमोश नेपाली, विजय गुरुङ, कल्लु, भुवन बराल, किशोर, बागबल बुढा मगर, महेश, वीरबल लामा, दिलीप कुमार शाह, अनुप, अखिलेश सिंह, बिनय सिञ्जाली, अमर बर्टौला, कमल बोगटी, लोकेश बिष्ट, अनिल बिष्ट, राज गिरी, परस ढकाल, दुर्गा कार्की लगायत सहयोग गर्ने सम्पूर्णप्रति पिडित परिवारले हार्दिक आभार सहित धन्यबाद समेत दिएका छन ।







प्रतिकृया दिनुहोस