चक्रवात ‘अर्नब’को प्रभावः लम्कीमा हल्का पानी पर्दै, देशैभर भारी पानी र हिमपातको चेतावनी

लम्की /  कैलालीको लम्की लगायतका ठाउँमा आज बिहानदेखि हल्का पानी परिहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउँसो कैलाली लगायत सुदूरपश्चि प्रदेशको तराई, पहाड र हिमाली क्षेत्रमा मध्यमदेखि एक दुई स्थामा भारी पानी पर्ने छ । हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । 

 

   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ। जसका कारण कैलाली लगायत देशैभर बादल लागेको छ । केही ठाउँमा हल्कादेखि मध्यम पानी परिरहेको र दिउँसो आजराती केही ठाउँमा भारी पानी पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन चेतावनी दिएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। सुदूरपश्चिम, लुम्बीनि, कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ ।

 

आज दिउँसो  अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम पानी पर्नुका साथै हिमपात हुने महाशाखाको पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्नेछ ।

 

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी पानीसँगै हिमपातको सम्भावना पनि छ।

 

त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नुका साथै मेघगर्जन र चट्याङसहित  पानी पर्ने तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारी पानी पर्ने तथा हिमपात हुने महाशाखाको अनुमान छ।

 

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी पानी पर्ने तथा एकदुई स्थानमा अति भारी पानी पर्ने र हिमपात हुनसक्ने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी पानी पर्ने र हिमपातको सम्भावना छ।

 

 

सम्भावित पर्ने पानीका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ। साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

 

पानी परेसंगै  चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस