अझै हट्नसकेन छाउपडी प्रथा

 

नवीनकुमार देवकोटा

सुदूर पश्चिममा छाउपडी प्रथा छ । छाउपडी प्रथा हटाउन धेरै संस्थाहरूले प्रयास गरिरहेका छन् । छाउपडी प्रथा भनेको महिला रजस्वला हुँदा हप्ताको पाँच, छ वा सात दिन -कहीं पाँच, कहीं छ त कहीं सात दिन छ) घरभन्दा अलग्गै वा घरसँगै जोडेर बनाइएको छाउगोठमा सर्नुपर्ने रुढिवादी चलन हो । यो अवस्थामा यहाँका महिलाहरू दूध, दही, मोही, घ्यु खाँदैनन् । खाएमा देवीदेवता रिसाउँछन् भन्ने अन्धविश्वास छ । उनीहरूले गाई, भैंसीलाई छुन पाउँदैनन् तर उनीहरूले काटेको घाँस -सुख्खा घाँस मात्र) भने तिनै गाई भैंसीलाई खुवाइन्छ ।

साथीहरूसँग छाउपडी प्रथा हटाउनलाई सबैसँग छलफल गरौँ र समाजलाई छाउपडी प्रथारहित बनाऔँ भनेको त उनीहरूले उल्टै मलाई सोझै चुनौती पो दिएर भने- पहिला आफ्नो घरबाट सुरु गर्नुहोस् । अनि पछि विस्तारै अरुले पनि यसलाई सामान्य रूपमा लिन्छन् र यो प्रथा हट्दै जान्छ । मैले पनि ठीकै छ म मेरो घरबाट हटाउने प्रयास गर्छु ।

मैले साथीहरूसँग आफ्नो घरबाट यो प्रथा हटाई छाड्ने वाचा गरेको पर्सिपल्ट आमा पर सर्नुभयो -छाउ हुनुभयो ) । विद्यालयबाट पढाएर साँझतिर घर पुगें । घर पुग्नासाथ घरमा भाइ, बहिनीहरू ब्ााहिरै बसेर आगो बालेर चुलो बनाउँदै गरेको देखें । मैले अचम्मित बन्दै सोधेँ- यो के गरेको ? भाइले तत्काल जवाफ दियो- ‘आमा भैंसी दुहुँदै गर्दा छाउ हुनुभयो । अनि ? मैले भनें सबजना चुपचाप लागे । आमा सबै चाला माथिबाट हेेरिराख्नु भएको थियो । मैले चाल पाएँ त्यो दूध घरभित्र लिन नहुने भएर बाहिरै तताएर खानुपर्ने भएछ । मैले सोचें बाहिरै बसेर दूध खान हुने अनि भित्र बसेर खान नहुने ? फेरि त्यही दूध खाएको पेट लिएर घरभित्र पस्न हुने ? म झस्किएँ र बालेको आगो खुट्टाले मिचिदिएँ । अनि दूधको भाँडो (दुनेरो) लाई उचालें र सरासर घरभित्र प्रवेश गरें । सबैजना अचम्ममा परे । कसैले पनि मलाई नाइँनास्ति गर्न सकेनन् ।

बेलुका बहिनी र मैले खाना पकायौँ । उसले आमालाई खाना लगेर दिई र आमा सुत्नलाई छाउगोठतिर लाग्नुभयो । हामीहरूले खाना खायौँ र बहिनीले भाँडा धोएर अलग्गै कुनामा राखी । मैले ती भाँडा खुरुक्क डोकोमा -जहँा अरु भाँडाहरू राखिएका थिए) राख् भनें । उसले ती भाँडा डोकोमा राख्न बाध्य भई । हामीहरू सुत्ने कोठातिर लाग्यौँ । भाइबहिनी कतै छुइ त लाग्ने होइन ? भनेर डराउन पो थाले । उनीहरू त कतै अब अत्याउने -भूत) त आउने होइन ? भनेर एक अर्कासँग कानेखुशी गर्न थाले । रात बित्यो । भोलिपल्ट बिहान आमा घर भन्दा अलि बाहिर आएर उभिनु भयो । मैले सोधेँ-कतै हिजो राती केही त भएन ?’ आमाले जवाफ दिनुभयो छुइमुसो -छुइबाट हुने नराम्रो घटना) धेरै दिनपछि पनि देखिन सक्छ ।

छैटौँ दिनमा आमा घर पस्नुभयो । मैले बजैलाई मनाएपछि त अर्को पटकबाट घरमै बस्नुहुन्छ हैन ? भनी सोध्दा आमाले सर्त राख्नुभयो अस्ति छोएको दूधबारे बजैलाई नभन्ने । म पनि राजी भएँ । बजै आएपछि उनलाई फकाउन थालें । बजैलाई सोधें-तपाईंहरूले मलाई किन पढाउनु भएको ? बजैले सजिलै जवाफ दिनुभयो- ‘केही कुरा जानोस्, नयाँ नौलो सिकोस्, हामीलाई पनि सिकाओस्, ठूलोे मान्छे बनोस्, विदेश घुम्न सकोस्, संसार बुझोस् भन्नलाई । मैले भनें- मैले सिकें, देखें र पढे अनुसार त यो छाउपडी भन्ने कुरा त कहीं छैन बजै । सबैभन्दा भगवान् मान्नेहरू हामी छौं होला तर सबैभन्दा गरिब र पिछडिएका पनि हाम्रै गाउँका छन् बजै । छुवाछूत, छाउपडी प्रथा भन्ने कुरो भगवान्ले होइन हामी मान्छेले बनाएका हौं । छाउपडी प्रथा त उहिले छाउ भएकी महिलाले धेरै आराम गरोस्, भान्छाको काम नगरोस् भनेर अलग्गै राखिदिने चलन बनाएको हो । हामी त अझ छाउ भएको बेला भारी काम दिने गर्छौं । छाउ भएकी महिला सफा रहून् भनेर सधैँ नुहाउनुपर्छ भनेको हो । यिनीहरू त उल्टो चोख्याउनु पर्छ भनेर मात्रै नुहाउँछन् । बजैले मेरो कुरा सुनेपछि भन्नुभयो- कुरो त ठीकै गरिस् । मलाई पनि त्यस्तै लाग्छ । तर मन त मान्दैन के गरुँ लाटा । मैले भनें- मनलाई मनाउनु पर्यो । बजैले भन्नुभयो ‘अब आफ्ना दिन त गए । तेरी आमालाई भन् । उसले माने भैगो नि ।’ बजैबाट जे कुराको प्रतीक्षामा थिएँ त्यही कुरा निस्केपछि म आमालाई सुनाउन हिडें । आमाले फेरि बाधा देखाउनु भयो’ यदि समाजमा केही गडबड भइहाले पनि हामीलाई दोष दिन पछि पर्दैनन् । मैले समाजले हामीमाथि यस्तो आरोप लगाउँछ भने म तिनीहरूलाई अदालत पुर्यादिनेछु र अदालतले तिनीहरूलाई कडा सजाय दिनेछ भनेर आमालाई सान्त्वना दिएँ । त्यसपछि आमाले अब छाउ हुने पालोमा विचार गरौँला भन्नुभयो ।

कस्तो संजोग । ठीक एक महिनापछि पनि त्यही घटना हुनपुग्यो । विद्यालयबाट पढाएर आउँदै थिएँ । घरमा ठूलीआमा र आमा सँगै छाउ हुनुभएछ । आज फेरि ठूलीआमा भैंसी दुहुँदै गर्दा छाउ हुन पुगिछन् । एकैदिन दुइटै जेठानी-देउरानी छाउ हुन पुगेपछि बजैले दुवै घरको खाना एउटै घरमा पकाउँदै हुनुहुँदो रहेछ ।

म त्यो दिन घर पुग्नेबित्तिकै दाजु आएमा फेरि दूध घर लान्छन् भनेर भाइबहिनीहरू दूध तताउन हतार गर्दै थिए । मलाई देखेपछि बहिनीको सातोपुत्लो उडेछ । ऊ त्यो दूधलाई त्यहीं छोड्दै भित्र बजैले खाना बनाइरहेको ठाउँमा पुगी र भाइ मलाई देखेर हाँस्दै भन्न थाल्यो आज पनि त्यस्तै भयो । आज त बजैले घर लग्न दिन्नन् । घरमाथि पर्खालमा बसिरहेकी आमा र ठूलीआमा मुस्कुराई रहनुभएको थियो । मैले दूध उठाएँ । बहिनीले आत्तिंदै बजैलाई दाजुले दूध यतै ल्याउँदै हुनुहुन्छ भनेपछि बजै आक्रोशमा बाहिर निस्कनुभयो । आमाहरू प्नि आत्तिनुभयो । बजै रिसाउँदै भन्नुभयो’ दूध घर ल्याउँछस् भने म यो घरको पानी पनि खानेवाला छैन । आमाहरूले बिन्ती गर्नुभयो ‘बाबु छाडिदे ।

म अचम्ममा परें, आखिर अस्ति बजैले आमाले मान्छे भने घर पस्दा हुन्छ भन्नेले आज किन मन साट्न पुगिछन् ? अबदेखि घरमै बस्छु भन्ने आमाले किन फेरि योजना बदल्नुभयो ? मैले दूध बहिनीको हातमा दिएँ र जे गर्नुछ गर भनें । अनि बजैलाई सोधेँ- किन अस्तिको बोली फेर्नुभयो ? बजैले जवाफ दिनुभयो’ मैले यत्रो जीवन बिताएँ । मलाई कहिल्यै केही भएन । अहिले त उहिले जस्तो चुहिने गोठ छैन । ओढारमा रात बिताउनुपर्ने अवस्था छैन । अनि म आमातिर फर्कें । आमाले जवाफ दिनुभयो- आखिर महिनामा पाँच दिन पर सर्दैमा राम्रै हुन्छ भने किन परम्परा तोड्ने भन् त ? फेरि हामीलाई केही गाह्रो हुँदैन भने तँलाई किन विरोध गर्नुपर्या ? अब बुहारी ल्या अनि उसैलाई तोड्न लाउनु परम्परा । म चुपचाप लागें । मनमनै भनें- साथी मैले पनि सकिंन यो छाउपडी प्रथा हटाउन । वास्तवमै गाह्रो रहेछ रुढिवादी परम्परालाई एकैचोटि हटाउने प्रयास गर्नु । पूर्णरूपले महिलाहरू आफैं यस कार्यको विरोधमा उत्रेनन् भने यो प्रथा आफैं हट्न धेरै समय लाग्छ ।

 

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by